काठमाडौं, असार २६ । मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ। बिहीवार त्रिपुरेश्वरमा आत्मदाह गरेका नेपालीको मृत्यू भएपछि माइतिघरमा प्रदर्शनमा उत्रिएका युवा र संसदमा एकसाथ प्रधानमन्त्री बालेनको राजीनामा मागिएको हो ।
प्रधानमन्त्री बालेन नेतृत्वको सरकार नै गणेशको हत्यारा रहेको भन्दै सडकदेखि सदनसम्म राजीनामा माग गरेका हुन्। काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार नगर प्रहरीसँग विवादपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
यही घटनालाई लिएर संसद् र सडकबाट सरकारको विरोध हुन थालेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदले प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त पोख्नुभयो । ‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किनरु विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ?,’ थापाले प्रश्न गर्नुभयो ।
सरकारले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री शाहको आलोचना गरिन्। कालो चस्मा लगाएर जनताका समस्या देख्न नसकेको उनको टिप्पणी थापाले भन्नुभयो, ‘अब कालो चश्मा खोल्ने बेला आएको छ।’
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुरम हरले गणेशको हत्यारा बालेन सरकार नै भएको ठोकुवासहित रावजीनामा माग्नुभयो भने राष्ट्रिय सभको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्वकर्मा सरकारको क्रुरताका कारण गणेशको ज्यान गएको औँल्याउनु भयो । ‘बालेन सरकारको क्रुरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नुपर्यो,’ बिश्वकर्माले भन्नुभयो ।
आगोले जलेर घाइते भएपछि पनि प्रहरीले क्रुर व्यवहार गरेको उहाँको भनाइ थियो। ‘आगोमा जलेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, यो क्रुर सरकारले कुर्सीमा टाँसिइरहन उचित छैन,’ सांसद विश्वकर्माले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने माग गरे। ‘नैतिकता छ भने बालेन सरकार राजीनामा गरेर सडकमा आवस । बालेन सरकार राजीनामा दे,’ सांसद बिश्वकर्माले भन्नुभयो ।
संसद्सँगै सडकमा पनि प्रधानमन्त्री शाहविरुद्ध प्रदर्शन भएको छ। शुक्रबार माइतीघर पुगेका युवाले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्।
उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताका छन्। उनीहरूले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
उनीहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। राज्यको निरङ्कुशता र संवेदनहीनताले गणेशको ज्यान गएको जिकिर गरेका छन्। उनीहरूले बालेन सरकार हत्यारा सरकारको रुपमा प्रमाणित भइसकेकोले तत्काल कुर्सीबाट बिदा हुनुपर्ने बताएका छन ।













प्रतिक्रिया दिनुहोस्