जनता टाइम्स

२७ असार २०८३, शनिबार ००:२१

परिवारले नबुझेपछि मध्यराती गायव पारियो गणेशको शव, सिडीओकै प्रत्यक्ष संलग्नता


काठमाडौं, असार २७ । बिहिबार दिउँसो त्रिपरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका २५ वर्षीय युवक गणेश शव मध्यराती गायव पारिएको छ । शव बुझ्न सरकारले परिवारमाथि दिएको दवाव अस्वीकार गरेपछि मध्यराती अस्पतालबाट शव उठाएर गायव पारिएको हो ।

यो काममा काठमाडौँ सिडिओ इश्वरराज पौडेल आफै संलग्न हुनुभएको देखिएको छ । गृहमन्त्री सुधन गुरुङको आदेशमा सिडीओ पौडेलले अस्पतालबाट मध्यराती शव नै गायव पार्नुभएको हो । गणेशको शव कहा लगियो भन्ने जानकारी परिवारदेखि मिडियासम्मलाई लुकाइएको छ । रातको समय पारेर सिडीओ पौडेलले प्रहरीको घेराउमा शव अस्पतालबाट बाहिर लैजान लगाउनु भएको हो ।

यसअघि शुक्रवार दिनभर गणेशका परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो । वीर अस्पतालमै नेपाली परिवार र सरकारी टोलीबीच भएको बार्तामा परिवारले न्याय नपाउँदासम्म लास नबुझ्ने अडान लिएको थियो । मृतक गणेशका दाइ गणेश नेपाली हिजोदेखि नै अस्पतालमा हुनुहुन्छ भने उहाँका बाबु र आमा पनि मुगुबाट शुक्रबार अपरान्ह काठमाडौँ आइपुग्नुभएको छ ।

गणेशका एक आफन्तका अनुसार काठमाडौँ सिडिओ इश्वरराज पौडेलले परिवारलाई मिलापत्र गर्न निरन्तर दबाब दिनुभएको थियो । गणेशका आमा र बुबालाई ऐअरपोर्टमै लिनका लागि पुगेर एअरपोर्टबाट अस्पताल नलगी सिधै सिडिओ कार्यालयमा लगेर गणेशका दाजुसहितलाई छलफलमा राखेर मिलापत्र गर्न दबाब दिइएको हो । तर मृतकका परिवारले गणेशको शव नबुझेपछि राती अस्पतालबाट अन्तै गोप्य स्थानमा लगिएको हो ।

गणेशको शवलाई दिउसो नै परिवारको सहमतिविना नै अन्य स्थानमा समेत सारिएको थियो । फोटो र भिडियो खिच्न सुरक्षाकर्मीले रोक लगाएर राखी राती गायव पारिएको छ । मृतकको शवलाई कँहा सारिएको हो त्यसबारे पनि जानकारी नगराइएको अस्पतालमै रहेका आफन्तको भनाई छ ।