काठमाडौं, असार २७ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पछिल्ला दिनमा देशमा बढिरहेका आत्मदाहका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा र आक्रोशको कारण सरकारले खोज्नुपर्ने बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको आत्मदाह पछि सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डल र काठमाडौंको बुद्धनगरका ४५ वर्षीय अश्विन राउतले पनि आत्मदाहको प्रयास गरेको घटनालाई अत्यन्त दुःखद भएको उल्लेख गर्नुभएको छ।
उहाँले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लगातार यस्ता घटनाहरू दोहोरिनुले नागरिक किन यति धेरै निराश, आक्रोशित र असहाय महसुस गरिरहेका छन् भन्ने गम्भीर प्रश्न उठाएको बताउनुभएको छ।
बस्नेतले आफ्नो धारणा राख्दै वर्तमान बालेन नेतृत्वको सरकारले पुराना दल र नेताहरूमाथि झुटा आरोप लगाएर तथा भ्रमपूर्ण अपेक्षा सिर्जना गरेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार जनतामा ठुलो आशा जगाइए पनि त्यसअनुसार परिणाम आउन नसक्दा धेरै नागरिकमा निराशा र असन्तुष्टि बढेको छ।
उहाँले कुनै पनि नेतृत्वको प्रमुख दायित्व जनतालाई भ्रम होइन, भरोसा दिनु भएको उल्लेख गर्दै जनताको विश्वास जोगाउने काम संवाद, जिम्मेवारी र सुशासनमार्फत हुनुपर्ने बताउनुभएको छ।
सचिव बस्नेतले जीवनभन्दा ठुलो कुनै पनि कुरा नरहेको उल्लेख गर्दै कुनै पनि पीडाको समाधान आत्मदाह वा हिंसात्मक बाटो हुन नसक्ने स्पष्ट पार्नुभएको छ। उहाँले सरकारले समयमै नागरिकको असन्तुष्टि सम्बोधन गर्न नसके जनआक्रोश बढ्दै जाने र त्यसको राजनीतिक परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनीसमेत दिनुभएको छ।
‘लगातार यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाएको किन नागरिकहरू यति धेरै निराश, आक्रोशित र असहाय महसुस गरिरहेका छन्? मेरो बुझाइमा, वर्तमान बालेन सरकारले पुराना दल र नेतालाई झुटो आरोप लगाएर, भ्रम छरेर, जनतामा जगाएको ठुलो अपेक्षा र त्यसअनुसार परिणाम नआउँदा धेरैमा निराशा र असन्तुष्टि बढेको छ। कुनै पनि नेतृत्वको दायित्व जनतालाई भ्रम होइन, भरोसा दिनु हो। जनताको आशा र विश्वास जोगाउँदै समस्याको समाधान संवाद, जिम्मेवारी सुशासनबाट खोजिनुपर्छ। जीवनभन्दा ठुलो केही छैन, त्यसैले कुनै पनि पीडाको समाधान आत्मदाह वा हिंसा हुन सक्दैन। त्यो वातावरण बन्न नदिन सरकारले सकेन भने जनताको आक्रोशमा बालेन सरकार भष्म हुनेछ,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्