काठमाडौं, असार २७। कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा राखिएका बाढीबाट बिचल्लीमा परेका सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेन–जी अभियानका अगुवामाथि कुटपिट र धरपकड भएको भन्दै अनेरास्ववियुले कडा आपत्ति जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीद्वारा जारी प्रेस विज्ञप्तिमा जेन–जी अभियानका अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतमाथि कुटपिट तथा धरपकड गरिएको र सञ्चारकर्मी तथा अधिकारकर्मीमाथि प्रहरी दमन भएको उल्लेख छ। ‘कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा राखिएका बाढीले बिचल्ली परेका सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेन–जी अभियानका अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतमाथि भएको कुटपिट, धरपकड तथा सञ्चारकर्मी र अधिकारकर्मीमाथि गरिएको प्रहरी दमनप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले लोकतान्त्रिक व्यवस्थामा नागरिकको अवस्था बुझ्न जाने व्यक्ति, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीमाथि बल प्रयोग गरिनु गम्भीर विषय भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा नागरिकको अवस्था बुझ्न जाने व्यक्तिहरू, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीमाथि बल प्रयोग गर्नु नागरिक अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो ।’
अनेरास्ववियुले गरिब तथा विपन्न नागरिकलाई असुविधाजनक होल्डिङ सेन्टरमा राखिएको आरोपसमेत लगाएको छ । पीडित नागरिकको वास्तविक अवस्था सार्वजनिक हुन नदिन प्रयास गरिएको भन्दै संगठनले त्यसप्रति आपत्ति जनाएको छ । ‘राज्यसत्ताको आडमा गरिब तथा विपन्न नागरिकहरूलाई अमानवीय र असुविधाजनक होल्डिङ सेन्टरहरूमा राख्ने, आफूलाई प्रधानमन्त्री कार्यालयको “फोकल पर्सन” भन्दै धाकधम्की दिने व्यक्तिलाई संरक्षण प्रदान गर्ने तथा पीडित नागरिकहरूको वास्तविक अवस्था सार्वजनिक हुन नदिने प्रहरीको प्रयास अत्यन्तै दुःखद र निन्दनीय छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुले सरकारसमक्ष दमनकारी गतिविधि तत्काल बन्द गर्न, कुटपिट तथा धरपकडमा परेकाहरूलाई तत्काल रिहा गर्न र बिचल्लीमा परेका सुकुम्वासीहरूको सम्मानजनक तथा दीर्घकालीन व्यवस्थापन गर्न माग गरेको छ । ‘अनेरास्ववियु सरकारसमक्ष यस्ता दमनकारी गतिविधि तत्काल बन्द गर्न, कुटपिट तथा धरपकडमा परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न र बिचल्लीमा परेका सुकुम्वासीको सम्मानजनक र दीर्घकालीन व्यवस्थापन गर्न जोडदार माग गर्दछ,’ अध्यक्ष धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्