काठमाडौं, असार २७ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवामाथि कुटपिट तथा नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ ।
घटनालाई ‘अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय’ भन्दै सभापति थापाले नियन्त्रणमा लिइएका सम्पूर्ण युवालाई अविलम्ब निःसर्त रिहा गर्न माग गर्नुभएको छ ।
माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरिएको उल्लेख गर्दै उहाँले राज्यको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि ?’ थापाले प्रश्न गर्नुभएको छ ।
लोकतान्त्रिक व्यवस्थामा राज्यसँग प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले त्यसको जवाफ गिरफ्तारी, लाठी वा दमन हुन नसक्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘चेत होस्, लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन । सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ । आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो ।’
सभापति थापाले युवामाथि भएको कुटपिट र नियन्त्रणको घटनाले लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको संकेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्