काठमाडौं, असार २८ । गत बिहीवार त्रिपुरेश्वरमा आत्मदाह प्रयाशपछि वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच त्रिपक्षीय सहमति भएको छ ।

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बार्तामा तीनै पक्षबीच ९ बुँदे सहमति भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ।
उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उल्लेख छ।सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ।
यसैगरी घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ। यस्तै पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।
यसैगरी गणेशको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ।
यस्तो छ सहमतिको पूर्णपाठ













प्रतिक्रिया दिनुहोस्