जनता टाइम्स

२९ असार २०८३, सोमबार ०९:२६

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडक खण्ड पूर्ण रूपमा अवरुद्ध


काठमाडौं, असार २९। अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रमुख तथा सहायक राजमार्गमा यातायात सञ्चालन प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले समस्या भोग्नुपरेको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यस्तै, बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथको ललितपुर–हेटौँडा सडक खण्ड असार २७ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।

गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्डमा असार २७ गते खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशका चार जिल्लामा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।

गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

निरन्तर वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले प्रभावित सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।