जनता टाइम्स

२९ असार २०८३, सोमबार १०:२०

आफैँभित्रका विकृति सुधार्न नसक्ने लागुऔषधको दुर्व्यसनमा फसेकाे नेतृत्वबाट देश रूपान्तरण सम्भव छैन : शङ्कर पोखरेल


काठमाडौं, असार २९। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चर्का भाषण, सामाजिक सञ्जाल र सस्तो लोकप्रियताको आडमा देश बदल्ने दाबी गर्ने नेतृत्वमाथि कडा प्रश्न उठाउनुभएको छ।

उहाँले आफैँभित्रका विकृति र आचरणगत कमजोरी सुधार्न नसक्ने नेतृत्वलाई देशका बेथिति हटाउने जिम्मा दिनु नेपाली समाजको ठूलो भूल भएको टिप्पणी गर्नुभएको हो। ‘देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैँभित्रका विकृति—लागुऔषधको दुर्व्यसनजस्ता गम्भीर विचलन—र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले बिस्तारै महसुस गर्न थालेको छ,’ महासचिव पोखरेलले भन्नुभएको छ।

उहाँले परिवर्तनका नाममा चर्का भाषण गर्ने र सस्तो लोकप्रियता हासिल गर्नेहरूको वास्तविक कार्यशैली जनतासामु उदाङ्गिएको दाबी गर्नुभएको छ। ‘चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ,’ उहाँले उल्लेख गर्नुभएको छ।

महासचिव पोखरेलले देश परिवर्तन कुनै क्षणिक उत्तेजना, सामाजिक सञ्जालको प्रचार वा लोकप्रिय नाराबाट सम्भव नहुने स्पष्ट पार्नुभएको छ। ‘वास्तवमा देश बदल्नका लागि स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र त्यसप्रतिको निरन्तर समर्पण आवश्यक पर्दछ,’ उहाँको भनाइ छ।

उहाँले ‘हिजो देशमा केही भएकै थिएन’ भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसलाई गलत बताउनुभएको छ। ‘हिजो देशमा केही भएकै थिएन भन्ने भाष्य गलत हो। विगतमा धेरै कामहरू भएका थिए र विकासको प्रक्रिया अघि बढ्दै पनि थियो,’ महासचिव पोखरेलले भन्नुभएको छ।

पूर्वाधार र सूचना प्रविधिको विकासले समाजमा वस्तु तथा सेवाको पहुँच सहज बनाए पनि नागरिकको वैधानिक आय सोही गतिमा बढ्न नसकेको उहाँको विश्लेषण छ। यसले समाजमा अपेक्षा र आम्दानीबिच गम्भीर असन्तुलन सिर्जना गरेको उहाँले बताउनुभएको छ। ‘पूर्वाधार र सूचना प्रविधिको विकासले समाजमा वस्तु र सेवाको उपलब्धता सहज बनायो। त्यसले आम मानिसको अपेक्षा र चाहना ह्वात्तै वृद्धि भयो। तर सोही अनुरूप नागरिकको वैधानिक आयमा वृद्धि हुन सकेन,’ उहाँले भन्नुभएको छ।

महासचिव पोखरेलले यही असन्तुलनले समाजमा वैध र अवैध सबै माध्यमबाट सम्पत्ति तथा सेवा प्राप्त गर्ने गलत प्रवृत्तिलाई मलजल गरेको टिप्पणी गर्नुभएको छ। ‘अपेक्षा र आयबिचको यही असन्तुलनका कारण वस्तु र सेवा प्राप्त गर्न समाजमा वैध–अवैध सबै तरिकाहरू अपनाउने गलत प्रवृत्ति मौलायो। परिणामतः समाजमा भ्रष्टीकरण, अपराधीकरण, सामाजिक अराजकता, पैतृक सम्पत्तिको तीव्र क्षयीकरण र वैदेशिक पलायनजस्ता गम्भीर समस्याहरू देखा परे,’ उहाँले भन्नुभएको छ।

यिनै समस्याबाट सिर्जित जनअसन्तोषलाई केही शक्तिले राजनीतिक दल र राज्यविरुद्ध प्रयोग गरेको महासचिव पोखरेलको आरोप छ। सामाजिक सञ्जाल र सस्तो लोकप्रियतावाद त्यसका प्रमुख माध्यम बनेको उहाँको दाबी छ। ‘यसैबाट उत्पन्न जनअसन्तोषलाई सोसल मिडिया र पपुलिजम अर्थात् सस्तो लोकप्रियतावादका माध्यमबाट राज्य र राजनीतिक दलहरूका विरुद्धमा उचाल्न र प्रयोग गर्न केही शक्तिहरू सफल भए,’ उहाँले भन्नुभएको छ।

महासचिव पोखरेलले मुलुकका संरचनागत समस्या समाधान गर्न लोकप्रिय नाराको राजनीति असफल भइसकेको जिकिर गर्नुभएको छ। ‘यस प्रकृतिका गम्भीर संरचनागत समस्याहरूको समाधान पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव छैन भन्ने कुरा अब प्रस्ट भइसकेको छ,’ उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले मुलुकलाई वर्तमान सङ्कटबाट बाहिर निकाल्ने आधार वैचारिक स्पष्टता र राजनीतिक इमानदारिता मात्रै भएको बताउनुभएको छ । ‘यस्ता सङ्कटहरूको दिगो समाधान केवल वैचारिक स्पष्टता र राजनीतिक इमानदारिताको जगमा मात्र खोजिनुपर्दछ र त्यो सम्भव पनि छ,’ महासचिव पोखरेलले भन्नुभएको छ।