जनता टाइम्स

२९ असार २०८३, सोमबार १६:३३

कान्तिपुरको गेटमा तेर्स्याइएको गाडी रास्वपाका नेताको पुष्टि, बालेन टीमबाट भएका थिए मनोनीत


काठमाडौं, असार २९ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।

उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको भेटिएको छ । जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा रहेको खुलेको छ ।

मेयर कन्थमणिले करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको स्वीकार गरिसक्नुभएको छ । मेयर साहले गाडी किनेको एक महिना जति भएको र अहिलेसम्म पास गरिनसकेको बताउनु भएको छ । उहाँका अनुसार सो गाडीमा रवि चढने गरेका छन । रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लाग्नुभएको थियो ।

रास्वपाले गत जेठ ८ गतेमात्रै रविलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो । रविलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गर्नुभएको हो ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो । प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ निकट भूमिगत समुह अइतवारदेखि नै यस्तो आपराधिक योजना बनाएरै लागेको तथ्य यस घटनाले खुलेको छ ।