जनता टाइम्स

२९ असार २०८३, सोमबार १६:३१

रामेछापकाे उमाकुण्डमा बाढीपहिरो : लिखु–१ जलविद्युतको ड्याममा क्षति, तीन पुल प्रभावित


रामेछाप, असार २९ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले रामेछापको उमाकुण्ड गाउँपालिका–१ का विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीपहिरोका कारण लिखु–१ जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेपछि जलविद्युत आयोजना बन्द भएको छ भने रामेछाप र सोलुखुम्बु जोड्ने तीनवटा मोटरेबल पुलमा समेत क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार असार २९ गते बिहान करिब १ः०५ बजेको समयमा रामेछाप र सोलुखुम्बुको सीमाना भएर बग्ने लिखु खोलामा अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले उमाकुण्ड गाउँपालिका–१ तान्दिङस्थित लिखु–१ जलविद्युत आयोजनाको ड्याममा क्षति पुर्‍याएको हो।

एमभी दुगड हाइड्रोअन्तर्गत पान हिमालय इनर्जी लिमिटेडद्वारा सञ्चालित लिखु–१ जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेपछि हाल आयोजना बन्द रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गुम्देलबाट प्रहरी सहायक निरीक्षक ललितकुमार साहको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। निरन्तर वर्षाका कारण प्रहरी टोलीलाई घटनास्थल पुग्न समय लाग्ने र घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

त्यस्तै, असार २८ गते राति परेको अविरल वर्षाका कारण उमाकुण्ड गाउँपालिका–१ सुम्डास्थित बिसे खोलामा आएको पहिरोले खोला थुनिएको छ। पहिरोका कारण खोला थुनिएपछि हिमगंगा नदीमा बनेको पक्की पुल क्षेत्रमा पानीको बहाव अवरुद्ध भई पुलमाथिबाट पानी बगिरहेको प्रहरीले जनाएको छ।

बाढीको पानी सुम्डास्थित दोर्जे लामाको जस्ताले बारिएको चिया पसलमा पसेर क्षति पुर्‍याएको छ। यस्तै, रामेछाप र सोलुखुम्बु जोड्ने सवारीसाधन सञ्चालन हुने तीनवटा पुलमा क्षति पुगेको छ।

खोला किनारमा रहेका विद्युतका पोलमा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको प्रहरीले जनाएको छ। हालसम्म घटनामा मानवीय तथा चौपायाको क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

घटनाबारे थप जानकारी सङ्कलन गर्न प्रहरी चौकी बाम्तीबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको कमाण्डमा थप दुई जनाको प्रहरी टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। निरन्तर वर्षाका कारण प्रहरीलाई घटनास्थल पुग्न समय लागिरहेको जनाइएको छ।

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाबारे थप बुझ्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।