जनता टाइम्स

२९ असार २०८३, सोमबार १७:३४

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा अन्न पिस्न गएका दुई जनाको मृत्यु


काठमाडौं, असार २९ । कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा अन्न पिस्न गएका दुई जनाको मृत्यु भएको छ।

सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा ४६ वर्षीय मन्दिर सावँद र ७६ वर्षीय लालबहादुर सावँद रहनुभएको छ।

उहाँहरू सोमबार बिहान करिब ६ बजे अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला करिब २५ मिटर माथिबाट आएको पहिरोले पानीघट्टसहित पुरेको थियो।

घटनाबारे स्थानीयवासीले दिउँसो करिब साढे १ बजे प्रहरी चौकी मेहलमुडीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनालाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पहिरोका कारण पानीघट्टको करिब आधा भाग पुरिएको प्रहरीले जानकारी दिएको छ।