जनता टाइम्स

२९ असार २०८३, सोमबार १७:५१

सञ्चारगृहमा अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार : एमाले 


काठमाडौं, असार २९। नेकपा (एमाले) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमा सवारी साधन राखेर पत्रकार तथा सञ्चारकर्मीको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएकाे छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सञ्चारगृहका मूल गेटमै शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई काममा जान अवरोध पुर्‍याइएको र भयको वातावरण सिर्जना गरिएको प्रति आपत्ति जनाउनुभएकाे हाे । “विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ,” आचार्यले भन्नुभएको छ।

उहाँले काठमाडौंको तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयमा भएको घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ। “आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,” उहाँले भन्नुभएको छ।

स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व रहेको आचार्यले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौँ।”

आचार्यले घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति पूर्ण समर्थनसमेत जनाउनुभएको छ। “यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्दछौँ,” उहाँले भन्नुभएको छ।