रामेछाप, असार २९ । चार वर्षीय छोरा र नौ वर्षीया छोरीका लागि बाबु केवल अभिभावक मात्रै होइनन्, भरोसा, सपना र भविष्यका आधार पनि हुन्। तर दोरम्बा–शैलुङ गाउँपालिका–१ डडुवा सलेटार मझुवाका ३२ वर्षीय अति सीमान्तकृत थामी समुदायका मिलन थामी यतिबेला आफ्ना सन्तानको भविष्य आँखामा सजाउँदै जीवन रक्षाका लागि मिर्गौला रोगसँग कठिन सङ्घर्ष गरिरहनुभएको छ।
विगत ६ महिनादेखि भक्तपुरस्थित मोडेल अस्पताल प्रालिमा उपचाररत मिलनका लागि आर्थिक अभाव उपचारको प्रमुख चुनौती बनेको छ। साबिक डडुवा गाविस–८ का स्थायी बासिन्दा चन्द्रबहादुर थामीका छोरा मिलनको जीवन बचाउन परिवारले ऋणधन गरेर हालसम्म झन्डै सात लाख रुपैयाँ खर्च गरिसकेको जनाएको छ।
चिकित्सकले थप उपचारका लागि करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने बताएपछि परिवारमाथि चिन्ताको अर्को पहाड थपिएको छ। परिवारको मुख्य आयस्रोत र सहारा रहनुभएका मिलन आफैँ अस्पतालको शय्यामा पुगेपछि घरखर्चसँगै साना छोराछोरीको पालनपोषण र शिक्षादीक्षासमेत प्रभावित बनेको छ।
यही कठिन अवस्थामा मिलनको जीवन रक्षाका लागि देश तथा विदेशमा रहनुभएका नेपाली तथा शुभेच्छुकहरूले सहयोगी हात अघि बढाउनुभएको छ। सहयोगीहरूको साथ र सद्भावबाट सङ्कलित ८ लाख ८२ हजार ३४० रुपैयाँ शनिबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
दोरम्बा–शैलुङ गाउँपालिका–१ का वडा सदस्य मङ्गले थामीका अनुसार मिलनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचारमा केही राहत पुर्याउने उद्देश्यले देश तथा विदेशबाट सङ्कलित सम्पूर्ण रकम परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम प्राप्त भएपछि परिवारमा उपचारप्रतिको आशा थपिएको छ। देश–विदेशबाट जुटेका सहयोगी हातले मिलन र उहाँको परिवारलाई कठिन यात्रामा आफूहरू एक्लो नरहेको अनुभूति गराएको परिवारले जनाएको छ।
यद्यपि, मिलनको उपचार यात्रा अझै पूरा भएको छैन। आवश्यक उपचारका लागि अझै ठूलो रकम अभाव रहेको परिवारको भनाइ छ। परिवारसँग भएका आर्थिक स्रोत सकिँदै गएका छन् भने ऋणको भारसमेत थपिँदै गएको छ। तर दुई साना सन्तानका आँखामा आफ्ना बाबु उपचारपछि स्वस्थ भएर घर फर्किने आशा अझै जीवित छ।
परिवारले मिलनको जीवन रक्षाका लागि देश तथा विदेशमा रहनुभएका सहयोगी मनहरूलाई थप साथ र सहयोगका लागि अपिल गरेको छ। सानो–सानो सहयोगसमेत एकत्रित हुँदा उपचारमा ठूलो टेवा पुग्न सक्ने परिवारको विश्वास छ।
धेरै सहयोगी हात एकसाथ जोडिन सके एउटा जीवन बचाउन, दुई साना सन्तानको अभिभावक गुम्नबाट जोगाउन र एउटा परिवारको आशा पुनः फर्काउन महत्वपूर्ण योगदान पुग्न सक्छ।
मिलनको जीवन बचाउने अभियानमा थप सहयोगी मनहरूको साथ र सद्भावको अपेक्षा गरिएको छ। दुःखमा अघि बढाइएको एउटा सहयोगी हात कसैका लागि जीवनको सबैभन्दा ठूलो आशा बन्न सक्छ।













प्रतिक्रिया दिनुहोस्