काठमाडौं, असार ३० । मकवानपुरको कुलेखानी नजिकै रहेको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको छ। बाढीमा बग्नुभएका चालक हालसम्म बेपत्ता रहनुभएको छ।
प्रत्यक्षदर्शीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार दिउँसो उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्कर बोगटीले घटना दिउँसो करिब साढे ३ बजे भएको जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थल आसपास यात्रामा रहनुभएका प्रत्यक्षदर्शीहरूले बाढीले स्कुटरसहित चालकलाई बगाएको जानकारी प्रहरीलाई दिएका हुन्। ‘प्रत्यक्षदर्शीहरूले बताएअनुसार बाढीले स्कुटरसहित चालकलाई बगाएर बेपत्ता बनाएको छ। सुरक्षा निकायको टोलीले खोजी कार्य गरिरहेको छ। अहिलेसम्म केही पत्ता लागेको छैन,’ एसपी बोगटीले भन्नुभयो।
घटनाबारे स्थानीयवासीबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। सुरक्षाकर्मीहरूले बेपत्ता चालकको खोजी कार्यलाई निरन्तरता दिएका छन्।
एसपी बोगटीका अनुसार हालसम्म बाढीले बगाएको स्कुटरको नम्बर तथा बेपत्ता व्यक्तिको पहिचान खुल्न सकेको छैन। ‘प्रत्यक्षदर्शीले दिनुभएको जानकारीबाहेक थप विवरण प्राप्त भएको छैन। लगातारको वर्षा र खोलामा आएको ठूलो बाढीका कारण खोजी कार्यसमेत सहज हुन सकेको छैन,’ उहाँले भन्नुभयो।
प्रतिकूल मौसम र ठूलो बाढीका बाबजुद सुरक्षा निकायको संयुक्त टोलीले बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्