जनता टाइम्स

३० असार २०८३, मंगलवार ०७:५६

बालेन र स्वर्णिमको असक्षमताले लगानीकर्ताको विश्वास कमजोर बनायो : महेश बस्नेत


काठमाडौं, असार ३० । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बालेन नेतृत्वको सरकार गठन भएपछि शेयर बजारमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ।

‘बालेन सरकार गठन भएपछि करिब १०६ दिनको अवधिमा नेप्से ३८० भन्दा बढी अंकले घटेको छ भने बजार पूँजीकरणबाट झन्डै ६०० अर्ब रुपैयाँ बराबरको लगानीकर्ताको सम्पत्ति घटेको तथ्यांक सार्वजनिक भएको छ,’ बस्नेतले भन्नुभएको छ।

उहाँले शेयर बजारको वर्तमान अवस्थाले मुलुकको अर्थतन्त्र र लगानीकर्ताको आत्मविश्वासको अवस्था प्रतिबिम्बित गर्ने बताउनुभएको छ। ‘शेयर बजारको वर्तमान अवस्था देशको अर्थतन्त्र र लगानीकर्ताको आत्मविश्वासको ऐना हो। अर्थतन्त्रमा स्पष्ट नीति, स्थिरता र लगानीमैत्री वातावरणबिना बजारले गति लिन सक्दैन,’ उहाँले भन्नुभएको छ, ‘जब नीतिगत अन्योल र विश्वासको संकट बढ्छ, त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिन्छ।’

लगानीकर्ताको विश्वास बढाउने निर्णय र नीतिगत स्पष्टता अहिलेको आवश्यकता रहेको बस्नेतको भनाइ छ। ‘मिठा शब्दजालभन्दा पनि लगानीकर्तामा विश्वास जगाउने निर्णय, नीतिगत स्पष्टता र आर्थिक स्थिरता आजको आवश्यकता हो,’ उहाँले भन्नुभएको छ, ‘किनकि शेयर बजार ध्वस्त हुँदा घाटा केवल लगानीकर्ताको मात्र हुँदैन, त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ।’

बस्नेतले बालेन नेतृत्वको सरकार र अन्य राजनीतिक नेतृत्वको भूमिकामाथि समेत आलोचना गर्नुभएको छ। ‘मेरो दृष्टिमा दुई तिहाइको दम्भबाट परिचालित बालेन र स्वर्णिमको असक्षमता, सुधन गुरुङको अराजकता र रवि लामिछानेको रहस्यमय मौनताले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ, जसले शेयर बजारको गिरावटमा योगदान दिएको देखिन्छ,’ बस्नेतले भन्नुभएको छ।