काठमाडौं, पुस ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अपराधकै पक्षमा उभिएको छ । १२ बर्ष अघि इटाभट्टामा जिउँदै मान्छे जलाउने आफ्ना नेता तथा तात्कालिन सांसद मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको जनाएर कांग्रेस अपराधलाई संस्थागत गर्दै अपराधीको पक्षमा उभिएको हो ।
आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका तर्फबाट रौतहट–२ मा निर्वाचित सांसद तथा पूर्वमन्त्री हुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख जस्तो सम्मानित पदमा रहेका कृष्णबहादुर महरामाथि बलात्कार अभियोग लागेपछि प्रहरीलाई अनुसन्धान गर्न लगाएर अपराधलाई राजनीतिबाट मुक्त गर्न खोजेको बेला कांग्रैस भने जिउँदै मान्छे जलाएर मार्ने अभियुक्तको बचाउमा उत्रिएको हो । संसदकोहिउदे अधिवेशन अघि सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले झुटा प्रमाणहरू संकलन गरेर आलमलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै आपत्ति जनाएर अपराधकै पक्षमा उभिएको हो ।
‘राजनीतिक पूर्वाग्रह राखेर नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस,’ अपराधमा संलग्न अभियुक्तकै पक्षमा आफूहरु रहेको निश्कर्षसहित बैठकपछि सचेतक पुष्पा भुसालले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा प्रमाणहरू संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउने कार्यको कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ । स्वतन्त्र र निष्पक्ष छानबिनमाथि पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न सरकारलाई सचेतसमेत गर्दछ ।’
कांग्रैसको यो बिज्ञप्तीले ऊ स्पष्ट रुपमा अपराधको पक्षमा उभिएको प्रमाण दिन्छ । ०६४ को संविधानसभा निर्वाचनअघि आलमकै योजनामा बम पड्काएर त्रास उत्पन्न गराएको, घटना दबाउन घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा आलममाथि मुद्दा चलिरहेको छ । आलम पक्राउ परेकै समयदेखि कांग्रेसले उनको बचाउ गर्दै आएको थियो । कांग्रेस भएपछि जुनसुकै अपराधमा पनि छुट पाउनुपर्ने उस्को नीतिलाई पनि यो बिज्ञप्तीले प्रष्ट पारेको छ ।
यसअघि गत कात्तिक १ गते भक्तपुरमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरूलाई दिइएको प्रशिक्षणमा कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको मुद्दा अनुसन्धान गरेर पक्राउ गर्न पाइन्छ ? भन्दै आक्रोश पोखेपछि सार्वजनिक रुपमा माफी माग्नुपरेको थियो । गम्भीर मुद्दाका आरोपितमाथि विवादास्पद अभिव्यक्ति दिएपछि पार्टीभित्र र बाहिर देउवाको आलोचना भएपछि अभिव्यक्ति दिएको २४ घन्टा नबित्दै देउवाले बोली फेर्दैै नरम भाषामा विज्ञप्ति जारी गर्नुभएको थियो ।
‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष साबित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ,’ विज्ञप्ति जारी गर्दै देउवाले भन्नुभएको थियो, ‘मोहम्मद अफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’
कांग्रेसको दवावबीच तत्काल प्राप्त प्रमाणको आधारमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि आलम नख्खु जेलमा छन । आलममाथि षड्यन्त्र भएको भन्दै कांग्रेसमा फेरि विषय प्रस्तुत भएपछि पार्टीकै सांसद असन्तुष्ट बनेका छन । उनीहरुले कांग्रैसको यो निर्णय अपराधकै पक्षमा रहेको भन्दै पार्टी नै पतनको बाटोमा पुग्ने बताएका हुन ।
प्रतिक्रिया दिनुहोस्