काठमाडौं, असार ३० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मौनतामाथि तीखो राजनीतिक प्रहार गर्नुभएको छ। देशमा एकपछि अर्को गम्भीर घटना र विवाद सतहमा आइरहेका बेला लामिछाने ‘चीरनिद्रा’मा रहेको भन्दै थापाले व्यङ्ग्यात्मक शैलीमा प्रश्नै प्रश्न उठाउनुभएको हो।
लामिछानेलाई लक्षित गर्दै थापाले भन्नुभएको छ, “सुत्नुस् रवि सुत्नुस्, बालेनले कुर्सी नछाडेसम्म मस्त सुत्नुस्। बोले फसिन्छ, नाकको डाँडी भाँचिन्छ, आनन्दले मस्त सुत्नुस्।”
उहाँले बोल्दा अप्ठ्यारोमा परिने डरले लामिछाने मौन बसेको आशय व्यक्त गर्नुभएको छ। “आँखा खोले बोल्नुपर्छ, सुत्नुस् हाइसन्चो छ, हुन्छ र हुनेछ,” थापाले कटाक्ष गर्नुभएको छ।
गणेश नेपालीको आत्मदाहदेखि मिडिया हाउसमा शंकास्पद गाडी पार्किङ गरिएको भनिएको घटनासम्म जोड्दै थापाले लामिछाने किन नबोलेको भन्दै प्रश्न उठाउनुभएको छ। “गणेश नेपालीले आत्मदाह गरे बाल मतलब, किन उठ्ने ? मिडिया हाउसमा शंकास्पद गाडी ती बाह्र भाइ न परे!” उहाँले भन्नुभएको छ।
नेपाल–भारत भूमि सम्बन्धी अभिव्यक्तिमाथि पनि थापाले व्यंग्य गर्नुभएको छ। “नेपालले धेरै भारतको भूमि मिचेको भन्या त सुन्दै सुनिनँ,” उहाँको भनाइ छ।
रास्वपाले विगतमा अघि सारेको ‘जान्नेलाई छान्ने’ नारामाथि समेत थापाले कडा प्रहार गर्नुभएको छ। उक्त नाराबाट योग्य व्यक्ति छनोट भएको दाबीमाथि प्रश्न उठाउँदै उहाँले “जान्नेलाई छान्ने भनेको आला, काँचाँ, ठेट्नाहरू आएछन्” भन्दै टिप्पणी गर्नुभएको छ।
थापाले आशिका, टीका र राजिवलगायतका व्यक्तिको नामसमेत उल्लेख गर्दै उनीहरू अहिले मौन रहेको आशय व्यक्त गर्नुभएको छ। “आशिका, टीका, राजिव आदि नाटकीहरू बकुल्ला भाछन्,” उहाँले लेख्नुभएको छ।
वर्तमान सत्ता र राजनीतिक नेतृत्वमाथि थप कटाक्ष गर्दै थापाले “देश बनाउने तीन केटाहरू छँदैछन्, अरूको के काम भो र ? प्रधानमन्त्री भाडामा दिएकै छ, केही बोल्नु छैन, दुःख के भो र?” भन्नुभएको छ।
लामिछानेको मौनताले देशका गम्भीर विषय ओझेलमा पर्न सक्ने संकेत गर्दै थापाले अन्त्यमा अझ तीखो चेतावनी दिनुभएको छ। “चीरनिद्राबाट जागेर आँखा खोल्दासम्म केही बाँकी रहने छैन! मस्त सुतेझैँ गर्नुस् वा निदाउनुस्, आँखा खोल्नुको कामै छैन !” थापाले भन्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्