काठमाडौं, असार ३० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी ब्यारेजका सबै ढोका खोलेर नेपाली भूमि डुबानबाट जोगाउन सरकारलाई खबरदारी गर्नुभएको छ।
कोशी क्षेत्रमा डुबानका कारण नेपाली भूमि र खेतीयोग्य जमिन प्रभावित भएको उल्लेख गर्दै अध्यक्ष साम्पाङले सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको हो। उहाँले सरकारलाई चेतावनी दिँदै भन्नुभएको छ, “खबरदार सरकार… कोशी ब्यारेजका सबै ढोका खुला गरेर नेपाली भूमि डुब्नबाट बचाऊ !”
साम्पाङले डुबानका कारण ठूलो क्षेत्रफलमा रहेको खेतीयोग्य जमिन बालुवाले पुरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। “नेपाली भूमि डुबेर लाखौँ बिघा खेतबारी बालुवाको रास बनेको छ,” उहाँले भन्नुभएको छ।
अध्यक्ष साम्पाङले जनताबाट निर्वाचित सरकार जनताको समस्या समाधानमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै सरकारको भूमिकामाथि प्रश्नसमेत उठाउनुभएको छ। उहाँले भन्नुभएको छ, “तिमीलाई जनताले केका लागि जिताए ? एउटा ढोका त खोल्न सक्दैनौ भने ?”
साम्पाङले कोशी क्षेत्रको डुबान समस्या समाधान र नेपाली भूमि तथा खेतीयोग्य जमिनको संरक्षणका लागि सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्