काठमाडौं, असार ३० । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले छिमेकी मुलुकलाई सीमा मिच्न उक्साउने किसिमको अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री ढुंगा बोल्ला, मान्छे नबोल्ने अवस्थामा हुनुहुन्छ, प्रधानमन्त्रीले छिमेकीलाई सीमा मिच्न उक्साइरहनुभएको छ, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ।”
सांसद राईले वर्तमान सरकार गरिब तथा विपन्न नागरिकप्रति अनुदार बनेको बताउनुभयाे। सरकारले गरिब नागरिकलाई संरक्षण गर्नुको सट्टा थप समस्यामा पार्ने नीति लिएको उहाँको भनाइ थियो। “सरकार गरिबमारा बनेको छ, सरकार गरिबलाई निमोठ्न लागेको छ, सरकार धारे हात लगाएर गरिवलाई निमोठ्न लागेको छ,” उहाँले भन्नुभयो।
उहाँले करार सेवामा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी सरकारी नीतिप्रति पनि आपत्ति जनाउनुभयो। वर्षाैदेखि न्युन ज्यालामा काम गर्ने करारका कर्मचारीलाई ठेकेदारमार्फत परिचालन गर्ने प्रयास भइरहेको बताउँदै उहाँले त्यसले श्रमिक तथा कर्मचारीको अधिकार र सुरक्षामा असर पर्ने धारणा राख्नुभयो। “करारका कर्मचारीलाई ठेकेदारमार्फत लैजान खोजिएको छ,” सांसद राईले भन्नुभयो।
सांसद राईले सरकारलाई जनताको समस्या र श्रमिकका अधिकारप्रति जिम्मेवार बन्न आग्रह गर्दै प्रधानमन्त्रीले विवादित अभिव्यक्ति फिर्ता लिनुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्