जनता टाइम्स

३० असार २०८३, मंगलवार १२:०४

मुलुक संकटमा छ, राज्य, लोकतन्त्र र जनता रहे भने हामी फेरि राजनीति गरौँला : अमरेशकुमार सिंह


काठमाडौं, असार ३० । रास्वपा सांसद अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटमा परेको बताउँदै देश जोगाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले राज्य संकटमा परेको र नागरिकमा निराशा बढ्दै गएको उल्लेख गर्नुभयो। वर्तमान परिस्थितिको सामना कुनै एक दलबाट मात्रै सम्भव नहुने भन्दै उहाँले सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। “हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो देश बच्न सक्छ,” उहाँले भन्नुभयो।

सांसद सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याएर राष्ट्रिय मुद्दा तय गर्नुपर्नेमा जोड दिनुभयो। दलगत स्वार्थभन्दा माथि उठेर मुलुकका साझा विषयमा सहमति कायम गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। “संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ,” उहाँले भन्नुभयो।

राज्य, जनता र लोकतन्त्रको अस्तित्व रहे मात्रै राजनीतिक गतिविधि गर्न सकिने उल्लेख गर्दै सिंहले अहिलेको अवस्थाप्रति गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो। “राज्य रह्यो भने, लोकतन्त्र रह्यो भने, जनता रहे भने हामी फेरि राजनीति गरौँला,” सिंहले भन्नुभयो।

उहाँले मुलुक, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति र एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो