काठमाडौं, असार ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी आतंक सिर्जना गरेको बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सञ्चारमाध्यम र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा सवारीसाधन पार्किङ गराउने, त्यसका भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरी जनमत प्रभावित पार्ने गतिविधि भइरहेकाे बताउनुभयाे । “घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ,” उहाँले भन्नुभयो।
शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरणको आरोप लगाइएको बताउनुभयो। उहाँले राजनीतिकरणको अर्थ के हो भन्दै सरकारको कार्यशैलीमाथि प्रश्नसमेत उठाउनुभयो।
“आफैँ सरकारमा बस्ने, आफैँ आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,” उहाँले भन्नुभयो।
सरकारमाथि थप आक्रोश व्यक्त गर्दै शाहीले भन्नुभयो, “भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन, पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।”
उहाँले विगतमा संसद्को विरोध गर्नेहरू नै अहिले संसदीय राजनीतिमा सहभागी भएको भन्दै त्यसलाई पनि राजनीतिकरणको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।“संसद भवन चाहिँदैन, संसद चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,” शाहीले भन्नुभयो।
सत्तामा पुग्नुअघि र पुगेपछिको व्यवहार फरक देखिएको बताउँदै उहाँले राजनीतिक नेतृत्वको कार्यशैलीप्रति पनि कटाक्ष गर्नुभयो। “आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अगाडि–पछाडि टाइँटाइँ र टुइँटुइँ गाडी र सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, सत्तामा पुगेपछि आफ्नै अगाडि–पछाडि सुरक्षाकर्मीको लावालस्कर राख्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ,” उहाँले भन्नुभयो।
शाहीले राज्य संयन्त्रको दुरुपयोग र फरक विचारमाथि दबाब सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्