काठमाडौं, असार ३० । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका कामको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको गुनासो गर्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराउनुभएको समयमा बोल्दै प्रमुख सचेतक महरले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई निरन्तर धम्की आइरहेको बताउनुभएको हो।
जनताको अभिमत लिएर सदनमा जनताका आवाज र समस्या उठाउन आएको उल्लेख गर्दै उहाँले आफूहरूले निरपेक्ष रूपमा सरकारको विरोध नगरेको स्पष्ट पार्नुभयो। सरकारका सकारात्मक कामको समर्थन र कमजोरीको विरोध गर्दै सही बाटो देखाउने प्रतिपक्षको भूमिका रहेको उहाँको भनाइ थियो। ‘सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘विडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाहीँ विरोध गरेको केही मान्छेहरूलाई आभास हुँदो रहेछ। मलाई निरन्तर धम्की आइराखेको छ। फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ।’
प्रमुख सचेतक महरले संसदमा सरकारका काममाथि प्रश्न उठाउँदा र आलोचना गर्दा धम्कीको सामना गर्नुपरेको भन्दै सदनमै आफ्नो सुरक्षा अवस्थाबारे गुनासो गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्