जनता टाइम्स

३० असार २०८३, मंगलवार २०:३८

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय : उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता, खेलाडीलाई नगद पुरस्कार


काठमाडौं, असार ३०। मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले कृषि, विपद् व्यवस्थापन, खेलकुद, नेपाल वायुसेवा निगम र मिटरब्याज पीडितसँग सम्बन्धित विभिन्न पाँच महत्त्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१’ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो।

यसै गरी, विपद्का समयमा नागरिकको जिउधनको सुरक्षाका लागि खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। जोखिमपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउने उद्देश्यले उक्त निर्णय गरिएको मन्त्री पोखरेलले बताउनुभयो।

मन्त्रिपरिषद्ले खेलकुद क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरी मुलुकको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने भएको छ।

यस्तै, सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। उहाँलाई महाप्रबन्धकको समेत काम गर्ने गरी निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

बैठकले मिटरब्याज अर्थात् अनुचित लेनदेनबाट पीडित नागरिकको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेको छ। ती प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ।

सरकारले मिटरब्याज पीडितका समस्या समाधानलाई प्राथमिकतामा राख्दै आयोगका प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो।