जनता टाइम्स

३१ असार २०८३, बुधबार ०८:०५

४१ पत्रकार हटाउने निर्णयप्रति महासंघको आपत्ति, गोरखापत्र व्यवस्थापनलाई आन्दोलनको चेतावनी 


काठमाडौं, असार ३१। नेपाल पत्रकार महासंघले गोरखापत्र संस्थानमा लामो समयदेखि कार्यरत ४१ जना श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको सुनिश्चितता गर्न माग गर्दै संस्थान व्यवस्थापनलाई कडा आन्दोलनको चेतावनी दिएको छ।

नेपाल पत्रकार महासंघका सचिव रमेश खतिवडाले दिनुभएको जानकारीअनुसार महासंघकी अध्यक्ष निर्माल शर्मा नेतृत्व टोलीले गोरखापत्र संस्थान पुगेर महाप्रबन्धक हिक्मतबहादुर रावललाई भेटी पत्रकारको पेशागत सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको हो।

महासंघले दशकौँदेखि संस्थानमा श्रम गर्दै आएका ४१ जना पत्रकारलाई सेवा–सुविधाविना हटाउने तयारी र पाँच दिनको समयसीमा राखेर नयाँ भर्नाका लागि सूचना जारी गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएको छ। “बीसौँ वर्षदेखि संस्थानमा रगत–पसिना बगाएका ४१ जना पत्रकारलाई विना सेवा–सुविधा निकाल्ने र पाँच दिने म्याद राखेर संस्थानलाई भर्ती केन्द्र बनाउने खेल हामीलाई किमार्थ स्वीकार्य छैन,” सचिव खतिवडाले भन्नुभयाे ।

महास‌ंघले नयाँ भर्नासम्बन्धी विवादास्पद सूचना तत्काल खारेज गर्न तथा संस्थानमा कार्यरत ४१ जना श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गरेकाे छ।

महासंघले श्रमजीवी पत्रकारमाथि अन्याय भए त्यसविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ। “श्रमजीवीमाथि न्याय गरिएन भने महासंघ कडा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछ,” खतिवडाले स्पष्ट पार्नुभएको छ।

गोरखापत्र संस्थानको कार्यालयमा महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित र सचिव रमेश खतिवडासहितको टोली पुगेको थियो।

महासंघको टोलीले महाप्रबन्धक रावलसमक्ष श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्दै समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।

लामो समयदेखि संस्थानमा कार्यरत पत्रकारलाई सेवा–सुविधाविना हटाउने कार्य स्वीकार्य नहुने महासंघको अडान छ। साथै, नयाँ भर्नाको सूचना खारेज गरी कार्यरत पत्रकारको पेशागत भविष्य सुनिश्चित गर्न महासंघले संस्थान व्यवस्थापनसँग माग गरेको छ।