जनता टाइम्स

३१ असार २०८३, बुधबार ०८:५७

सरकारलाई मनिष झाकाे प्रश्न : यस्तो बचपना देखाएर राजकाज चल्छ ? जेनजीले यस्तै स्तरहीन कामका लागि साहदत दिएको हो ? 


काठमाडौं, असार ३१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ।

उहाँले यस्ता गतिविधिमा जोसुकै संलग्न भए पनि निष्पक्ष अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने स्पष्ट पार्नुभएको छ। तर नागरिकको चिन्ता र त्रास समाधान गर्नुपर्ने राज्य स्वयंले थप आतंकित बनाउने गतिविधि गर्नु आपत्तिजनक रहेको उहाँको टिप्पणी छ।

“सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” झाले भन्नुभएको छ, “राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतंकित बनाउने होइन।”

झाले राज्य सञ्चालनको शैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारको कार्यशैलीलाई ‘बचपना’को संज्ञा दिनुभएको छ। उहाँले प्रश्न गर्नुभएको छ, “यस्तो बचपना देखाएर राजकाज चल्छ ?”

जेनजी आन्दोलन र त्यस क्रममा भएको सहादतको स्मरण गराउँदै झाले राज्य संयन्त्रबाट भइरहेको भनिएको ‘स्तरहीन र गलत प्रयोग’प्रति समेत आक्रोश व्यक्त गर्नुभएको छ। “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?” उहाँले प्रश्न गर्दै भन्नुभएको छ, “यस किसिमको कामप्रति घोर आपत्ति छ।”

झाको अभिव्यक्तिले नागरिकलाई सुरक्षा र भरोसा दिनुपर्ने राज्य संयन्त्र नै त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न भएको आशंका उत्पन्न भएको संकेत गरेको छ। उहाँले घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्दै संलग्न व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ।

राज्य शक्ति नागरिकको चिन्ता समाधान, शान्ति–सुरक्षा कायम र विश्वास निर्माणमा प्रयोग हुनुपर्ने भन्दै झाले त्रास र अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।