काठमाडौं, असार ३१ । रौतहटमा फेरि अर्का एक युवाले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।
रौतहटको गरुडा नगरपालिका–९ स्थित गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।आगोले सहनीको घाँटीदेखि तलसम्मको शरीर जलेको छ। प्रहरीका अनुसार उनको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ।
घटनालगत्तै घाइते सहनीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। अस्पतालबाट बिहान करिब ४ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको जनाइएको छ।
जानकारी पाएलगत्तै प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो।
बेटर नेपाल अस्पतालमा प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
हाल सहनीको अवस्था मध्यम रहेको जनाइएको छ। आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न सकेको छैन। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
एक हप्ताकाे बिचमा आत्मदाहकाे घटनमा ३ जनाकाे ज्यान गइसकेकाे छ । क्रमबद्ध रुपमा भएका यस्ता घटनाले देशलाई नै चिन्तित बनाएकाे छ ।













प्रतिक्रिया दिनुहोस्