काठमाडौं, असार ३१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी अर्याल पुनर्बहाली हुनुभएको छ । विशेष अदालतले एमडी अर्यालमाथि लागेको भ्रष्टाचारको आरोपमा पूर्णरूपमा सफाइ दिएपछि निलम्बन फुकुवा भएर आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।
विशेष पश्चात् असार २५ गते बिहीबार एमडी अर्यालसहित नेपाल टेलिकमका उच्च तहका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दाबी नपुगेको ठहरसहित सफाइ दिएको थियो ।
विशेष अदालतको सो निर्णयसँगै शुक्रवार अर्थात् असार २६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको मन्त्रीस्तरीय निर्णयअनुसार पहाडीको निलम्बन फुकुवा गर्नुभएको हो ।
मन्त्रालयको सो निर्णयपछि पहाडी टेलिकममा प्रबन्ध निर्देशक पदमा पुनर्बहाली भई असार २९ गतेबाट आफ्नो कार्यभार सम्हाल्नुभएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले बताउनु भएको छ ।
पदबहाली कार्यक्रममा विशेष सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताउनु भयो । उहाँले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
‘विगतमा निष्ठापूर्वक काम गर्दा पनि हामी कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको छ । मेरो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद दिन चाहन्छु,’ एमडी अर्यालले भन्नुभयो, ‘सम्मानित अदालतको निर्णयबाट हामी सबैले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन पर्दैन भन्ने सत्यलाई अटल रूपमा स्थापित गरेको छ ।’
सम्बोधनकै क्रममा उहाँले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने र नेपाल सरकारको भावना एवं मार्ग निर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्