जनता टाइम्स

३१ असार २०८३, बुधबार १३:३१

कर्णाली सरकारबाट कांग्रेसका चारै मन्त्रीले दिए सामूहिक राजीनामा


काठमाडौं, असार ३१ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।

यद्यपि, मुख्यमन्त्री कँडेलले मन्त्रीहरूको राजीनामा हालसम्म स्वीकृत गरिसक्नुभएको छैन । मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहनुभएकाले राजीनामा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार कर्णालीमा नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । तर, एमालेले उक्त सहमति पालना नगरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बजेट आउनुभन्दा पहिला नै मन्त्रीहरूले राजीनामा दिने भन्ने कुरा थियो, मैले मानिनँ । आर्थिक वर्षको अन्त्यमा सरकारलाई किन अप्ठ्यारो पार्ने भनेर बजेट पारित भएपछि सोचौँला भन्ने थियो ।’

नेपाली कांग्रेसका मन्त्रीहरू २०८१ साल साउनदेखि कर्णाली प्रदेश सरकारमा सहभागी रहँदै आउनुभएको थियो ।