काठमाडौं, असार ३१ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले गम्भीर विषय उठ्ने बित्तिकै सरकार विषयान्तरको षड्यन्त्रमा लाग्ने गरेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार जनसरोकारका गम्भीर विषयलाई ओझेलमा पार्न विभिन्न ‘स्टन्ट’ गर्न माहिर भएको बताउनुभयो ।
‘गम्भीर विषय उठ्दा विषयान्तर गर्न आउने यस्ता सस्ता सरकारी फन्डाहरू अब नयाँ रहेनन् । यस्तो सस्तो स्टन्टको पछि नकुद्नुहोला,’ उहाँले भन्नुभयो ।
सरकारका कारण जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै सांसद गुरुङले सरकार वास्तविक समस्याको समाधानभन्दा पनि स्टन्टमार्फत विषयान्तर गर्ने प्रयासमा केन्द्रित भएको आरोप लगाउनुभयो ।
‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्वासी बस्तीमा डोजर चल्यो । तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्ट्याटसमा रमाइलो चल्यो । कीर्तिपुरस्थित सुकुम्वासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मच्चियो,’ उहाँले भन्नुभयो ।
उहाँले आत्मदाहका घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न मिडिया हाउसको गेट र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निवासअगाडि गाडी राखिएको दाबीसमेत गर्नुभयो ।
ती घटनाहरू सरकारकै योजनामा भएको दाबी गर्दै सांसद गुरुङले गम्भीर घटनालाई ओझेलमा पार्ने सरकारी प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्