काठमाडौं, असार ३१ । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले चुनावअघि जनतालाई विभिन्न आश्वासन बाँडेको सरकारले चुनावपछि सुकुम्वासीमाथि डोजर चलाएको बताउनुभएकाे छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारका पछिल्ला गतिविधिलाई जनताले नजिकबाट नियालिरहेको उल्लेख गर्दै जनताको धैर्यको बाँध फुट्न सक्ने चेतावनी दिनुभयो । ‘चुनावअघि चुपचाप, चुनावपछि सुकुम्वासी साफ, चुपचाप होल्डिङ सेन्टर बास, चुपचाप शैक्षिक सेन्टर साफ,’ उहाँले भन्नुभयो, ‘आमा, घण्टीमा भोट दिए म घर आउनेछु भन्न लगाइयो, घरमै बसीबसी दुई लाख कमाउँछु भन्न लगाइयो, एक महिनामै सुकुम्वासीको घर भत्कियो ।’
उहाँले निर्वाचनका बेला गरिएका वाचा र सरकारमा पुगेपछिका गतिविधिबीच ठूलो अन्तर देखिएको टिप्पणी गर्नुभयो । रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै उहाँले ‘डोजर चल्दा छाती थाप्छु भन्नेहरूले वाचा पूरा गरे ?’ भन्दै प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै सांसद श्रेष्ठले सरकार आफैँ घटना सिर्जना गर्ने र आफैँ कारबाहीको नाटक गर्ने भूमिकामा देखिएको बताउनुभयाे । ‘गाडी तेर्स्याएर अभिनय सरकारले गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ, सरकार कलाकार नै पर्यो, कथा कहाँ लेखियो ? यो सामान्य छैन, आफैँ बोक्सी, आफैँ झाँक्री,’ उहाँले भन्नुभयो ।
सरकार नेपाली नागरिकको भावनासँग खेल्न सिपालु भएको टिप्पणी गर्दै उहाँले अहिले मतदाता र सत्ता प्राप्त गर्नेहरूको अवस्थाबीच ठूलो असमानता देखिएको बताउनुभयो । ‘अहिले भोट पाउनेको सुनको थुप्रो, भोट हाल्नेको उठिबास, जनताले के नारा बनाउने ? लेखिदिने र बोलिदिने सबै प्रतिबन्धित छन्,’ उहाँले भन्नुभयो ।
सांसद श्रेष्ठले नेपालको भूमि र राष्ट्रियता कुनै पनि अवस्थामा गुम्न नदिने बताउँदै प्रधानमन्त्रीले दिएको ‘राष्ट्रघाती अभिव्यक्ति’ सच्याउनसमेत माग गर्नुभयो । ;साे अभिव्यक्ति फिर्ता नहुँदासम्म विराेध जारी रहने उहाँले स्पष्ट पार्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्