जनता टाइम्स

३१ असार २०८३, बुधबार १४:३५

सरकार मूल मुद्दा ओझेलमा पारेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा : महेन्द्रबहादुर शाही


काठमाडौं, असार ३१ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले देशका मूल मुद्दाहरूलाई ओझेलमा पारेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित गरेको आरोप लगाउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद शाहीले क्षणिक प्रचारबाजी र ‘फन्डा’ले मुलुक निर्माण नहुने बताउनुभयो । राजनीतिक दल र नेतृत्वले जनताका वास्तविक तथा दीर्घकालीन आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्,’ उहाँले भन्नुभयो, ‘तर आज हाम्रा मूल मुद्दाहरू ओझेलमा परेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित भएको छ । यस्ता गतिविधिले देश बन्दैन, बरु बर्बादीको दिशामा लैजान्छ ।’

सांसद शाहीले सरकारले कामबाट जवाफ दिनुपर्नेमा प्रचारबाजी, फन्डा र अपरिपक्व काममा केन्द्रित भएको आरोप लगाउनुभयो । यस्ता गतिविधिले जनतामा सरकारप्रति आशा जगाउनुको सट्टा अविश्वास बढाइरहेको उहाँको टिप्पणी थियो ।

उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको गम्भीर विषयमा सरकार संसद्मा मौन बस्न नमिल्ने भन्दै उहाँले स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।

सरकारले उक्त विषयमा स्पष्ट जवाफ नदिएसम्म प्रतिपक्षका तर्फबाट विरोध जारी रहने उहाँले बताउनुभयो ।

लोकतन्त्रमा व्यक्ति अस्थायी र राज्यका संस्थाहरू स्थायी हुने उल्लेख गर्दै सांसद शाहीले व्यक्ति नभई संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘पाँच वर्षका लागि चुनिएर आउने व्यक्ति अस्थायी हो, तर राज्य र यसका संस्थाहरू स्थायी हुन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले व्यक्ति होइन, संस्था बलियो हुनुपर्छ । राज्य संयन्त्र कमजोर पारेर व्यक्ति बलियो बन्ने र नागरिकमा डर–त्रास सिर्जना गर्ने शैलीले लोकतन्त्र बलियो हुँदैन ।’