काठमाडौं, असार ३१ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले संसद्मा सांसदले आफ्ना धारणा राख्दा गृहमन्त्रीबाट धम्की आउने अवस्था देखिएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक महरले सांसदले जनताका आवाज र समसामयिक विषय संसद्मै उठाउने भएकाले त्यसलाई लिएर धम्क्याउने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो । ‘एउटा माननीयले संसद्मा बोल्दा गृहमन्त्री धम्क्याउनुहुन्छ । सांसदले संसद्मा नबोलेर कहाँ बोल्ने ?’ उहाँले प्रश्न गर्नुभयो, ‘त्यसकारण सरकार सच्चिनुपर्छ र विवेकशील ढंगले अघि बढ्नुपर्छ ।’
महरले नेकपा एमाले सरकारको विरोधका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । आफूहरू रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहेको उहाँले बताउनुभयो । ‘हामी सरकारको विरोधी बन्न चाहँदैनौँ । हामी रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्ष बन्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘हामी सरकार जिम्मेवार भएको हेर्न चाहन्छौँ । कानुनी राज्य र विधिको शासन होस् भन्ने चाहन्छौँ ।’
वर्तमान सरकारसमेत असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिँदै उहाँले कुनै पार्टीको जित वा हारभन्दा व्यवस्थाको सफलता महत्वपूर्ण रहेको बताउनुभयो ।
अनेरास्ववियुका विद्यार्थी पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै महरले उनीहरू सिंहदरबार जलाउन नभई सरकारको ‘अराजकता’को विरोध गर्न गएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको पनि आलोचना गर्नुभयो । प्रधानमन्त्रीले संसद्मा नेपालले समेत भारतको भूमि मिचेको अभिव्यक्ति दिएको र सत्ता पक्षका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
त्यस्तै, सार्वजनिक स्थानमा नियतवश गाडी छाडिएका घटनालाई ‘गाडी आतंक’को संज्ञा दिँदै महरले दोषीलाई सामान्य जरिवानासमेत नगरी छाडिएको आरोप लगाउनुभयो । उहाँले ‘सरकार राज्य आतंकका लागि हो र ?’ भन्दै प्रश्नसमेत गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्