जनता टाइम्स

३१ असार २०८३, बुधबार १६:०२

एकैपटक ६ सचिवको सरुवा, बालेनले आफ्ना बिश्वाशपात्रलाई पठाए अख्तियार


काठमाडौं, असार ३१ । सरकारले एकैपटक ६ जना सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय तथा कार्यालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरू सरुवाको निर्णय गरेको हो । अख्तियार बाहेक राष्ट्रिय सतर्कता केन्द्र, विज्ञान, महिला, उद्योग मन्त्रालयका सचिवहरुलाई पनि परिवर्तन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ । सतर्कता केन्द्रको सचिवमा पूर्वाधार विकास मन्त्रालय (यसअघि खानेपानी मन्त्रालय) का सचिव विश्वबाबु पुडासैनीलाई सरुवा गरिएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री बालेनले सचिव शर्मालाई निकै बिश्वास गर्ने गरेको प्रधानमन्त्री कार्यालयकै अधिकारीहरू बताउने गरेका छन । शर्मालाई अख्तियार पदाधिकारीमाथि निगरानीसहित प्रधानमन्त्री कार्यालयमा आफूलाई नियमित सूचना दिने कामसमेत सुम्पिएको स्रोतको दावी छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा रहने गरी सरुवा गरिएको छ । महिला मन्त्रालयमा यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई लगिएको छ ।