काठमाडौं, असार ३१ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।
प्रदेश सरकारको बजेट पुनर्लेखन गर्नुपर्ने माग राख्दै आएको अवस्थामा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेपछि समर्थन फिर्ता लिने निर्णय गरिएको रावलले बताउनुभयो ।
मुख्यमन्त्री शाहले बुधबार भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गत असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति एमाले सुरुदेखि नै असन्तुष्ट रहँदै आएको थियो । सरकारमै सहभागी रहेका बेला एमालेका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेका थिए । त्यसपछि सत्ता गठबन्धनभित्रको विवाद थप चर्किएको थियो ।
बजेट विवाद समाधानका लागि मुख्यमन्त्री शाहले कांग्रेसको केन्द्रीय नेतृत्वसँग समेत छलफल गर्नुभएको थियो । कांग्रेस नेतृत्वले एमालेसँग निरन्तर संवाद गरी सहमतिमा पुग्न सुझाव दिएको बताइएको छ । तर, एमालेसँग सहमति जुट्न नसकेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदबाट हटाउँदै वैकल्पिक राजनीतिक समीकरणका लागि छलफल अघि बढाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्