जनता टाइम्स

६ पुष २०७६, आईतवार ०७:४८

पर्यटनमन्त्री योगेश भट्टराईको अठोट : नेपालीको नशामा एक थोपा रगत रहेसम्म देशको भूमि गुम्न दिन्नौ


गोरखा  पुस ६  ।   संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालीको नशामा एक थोपा रगत रहेसम्म देशको भूमि गुम्न नदिने बताउनुभएको छ । बुद्धको देश नेपालमा अशान्ति र युद्धको कुनै गुञ्जायस नहुने भन्दै उहाँले नेपालको भूमिमाथि गलत रुपले नहेर्न छिमेकी देशहरुलाई आग्रह गर्नुभयो ।

गोरखा नगरपालिका वडा नम्बर–४, पिपलथोकमा शनिवार भिमसेन थापाको शालिक अनावरण गर्दै भट्टराईले भन्नुभयो, ‘यो भिमसेन थापाको देश हो जसले संसारभर ब्रिटिश सामाज्य फैलिरहेका बेला देशको भूमि रक्षा गर्नुभयो, आज यो शालिक हेर्दा यस्तो लाग्दैछ कि भिमसेन थापाले हामीलाई देश जोगाउँछौ कि जोगाउँदैनौ भनेर प्रश्न गरिरहेका छन् ।’

भारत र चीनको नाम लिँदै भट्टराईले विश्व जित्दै हिँडेका देशले एउटा सानो र शान्त देशको भूमिमा आँखा लगाउन नसुहाउने बताउनुभयो । पुर्खाले जोगाएको देशको सीमा संरक्षणका लागि सरकारले पहल गरिरहेको मन्त्री भट्टराईको भनाइ छ ।

‘देशको सीमा रक्षाका विषयमा हामी सबै पार्टीहरुबीच एकमत छ, हामीबीच कुनै दुश्मनी छैन’ उहाँले भन्नुभयो, ‘दुश्मनी केही छ भने, गरिबी, पछौटेपनसँग छ, हामी सबै मिलेर त्यसविरुद्ध लड्नुपर्छ, आफू आफू लडेर हामी कहीँ पुग्दैनौँ ।’

भट्टराईले आउँदो दुई वर्षभित्र देशका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

गोरखा नगरपालिकाले विभिन्न सरकारी निकायको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर–४ को पिपलथोकमा भिमसेन थापा स्मृति पार्क र थापाको पूर्णकदको शालिक स्थापना गरेको हो ।