जनता टाइम्स

३२ असार २०८३, बिहीबार १६:३०

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने नेकपाको निर्णय, मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न आग्रह


काठमाडौं, असार ३२ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ प्रदेश सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेशमा नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग आवश्यक संवाद र पहल अघि बढाउने निर्णय गरेको हो।

बैठकले नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ। साथै, वर्तमान सरकारले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि महत्त्वपूर्ण निर्णय तत्काल नगर्न अनुरोध गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा बजेटलाई लिएर उत्पन्न विवादपछि राजनीतिक समीकरण फेरिएको हो। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गरेपछि विवाद चुलिँदा मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको थियो।

मुख्यमन्त्रीद्वारा मन्त्रीहरू बर्खास्त गरिएलगत्तै एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकार अल्पमतमा परेको हो।

समर्थन फिर्तापछि मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोगको आग्रह गर्नुभएको थियो। तर नेकपाले वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने स्पष्ट गर्दै नयाँ राजनीतिक निकास आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ।