जनता टाइम्स

१ श्रावण २०८३, शुक्रबार ०७:५८

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रूपमा अवरुद्ध


काठमाडौं, साउन १ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–तालतुङ सडकखण्डअन्तर्गत मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यस्तै, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। सो क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

बागमती प्रदेशमा वर्षाले सबैभन्दा बढी असर पारेको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि विहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर (कान्तिलोकपथ) सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको छ। भिमफेदी गाउँपालिका–८ भैँसेडाँडादेखि ललितपुरतर्फ भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ। साथै, बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरो खसेपछि अरनिको राजमार्गसमेत पूर्ण रूपमा बन्द भएको छ।

गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा पर्ने नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। त्यस्तै, बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँची, पाणिनी गाउँपालिका–२ डुङ्गेखोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

गुल्मीमा पनि तीन स्थानमा पहिरोका कारण सडक यातायात प्रभावित बनेको छ। कालीगण्डकी गाउँपालिका–२ रानीवास तथा वडा नं. ५ पुर्तिघाट क्षेत्रमा कालीगण्डकी करिडोर एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। साथै, रुरु गाउँपालिका–२ साउनेस्थित रिडी–वामी सडकखण्डमा पनि एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।