जनता टाइम्स

१ श्रावण २०८३, शुक्रबार १०:५९

आम्दानी बढाउने योजना छैन, सरकारले नागरिकमाथि करको भारी मात्र थप्यो : सूर्य थापा


काठमाडौं, साउन १ । नेकपा (एमाले)का नेता सूर्य थापाले सरकारले आम्दानी बढाउने प्रभावकारी योजना ल्याउन नसकी नागरिकमाथि विभिन्न शीर्षकमा करको भार थपेको आरोप लगाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले सरकारले आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनाभन्दा नयाँ–नयाँ कर लगाएर नागरिकलाई थप आर्थिक बोझ बोकाएको टिप्पणी गर्नुभएको हो। उहाँले सरकारले ३ प्रतिशत शैक्षिक कर, ३ प्रतिशत स्वास्थ्य कर, विद्युत्मा ५ प्रतिशत भ्याट, औद्योगिक प्रयोजनका विद्युत्मा १३ प्रतिशत भ्याट, सेयरिङ राइडिङ सेवामा ५ प्रतिशत कर तथा सेयर खरिद–बिक्रीमा १० प्रतिशत पुँजीअभिवृद्धि कर लगाएको उल्लेख गर्दै यसले नागरिक र व्यवसायी दुवैलाई थप दबाबमा पारेको दाबी गर्नुभएको छ।

नेता थापाले पछिल्लो राजनीतिक परिवर्तनको पक्षमा उभिएका नागरिकप्रति लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले “अवतारी नयाँ” भन्ने भ्रममा परेकाहरूले अब आफ्नो निर्णयको समीक्षा गर्दै गल्ती स्वीकार गर्नुपर्ने समय आएको टिप्पणी गर्नुभएको छ।

उहाँले लेख्नु भएको छ :

आम्दानी बढाउने कुनै उपाय छैन

नागरिकलाई करको बोझ ???

१) ३% शैक्षिक कर

२) ३% स्वास्थ्य कर

३) ५% विद्युत् भ्याट

४) १३% विद्युत् भ्याट (औद्योगिक कर)

५) शेयर्ड राइडिङमा कर ५%

६) शेयर खरिद बिक्रीमा पुँजीअभिवृद्धि कर १०%

त्यसैले त अवतारी नयाँको

भ्रममा परेकाहरूलाई भनिएको हो-

अब आफ्नो हात सिलौटामा राखेर लोहोराले थिच !

आफ्नो भूल र गल्तीप्रति सामूहिक क्षमापूजा गर !!