काठमाडौं, साउन १ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सही मूल्य–मान्यता संकटमा पर्न थालेको बताउँदै यसको सदुपयोगमार्फत चुनौतीलाई अवसरमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पहलमा निर्माण गरिएको पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक कार्यक्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना र प्रविधिको विकासले विश्वलाई नजिक ल्याए पनि त्यसको दुरुपयोगले समाजमा भ्रम सिर्जना गरिरहेको बताउनुभयो।
महासचिव पोखरेलले सही मूल्य–मान्यता स्थापित गर्ने कार्य अहिले थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यही प्रवृत्ति निरन्तर रहिरहे देश गलत सोच र प्रवृत्ति भएका व्यक्तिहरूको प्रभावमा पर्न सक्ने चेतावनी दिनुभयो।
उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) अहिले चुनौतीका रूपमा देखिए पनि त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सके ठूलो अवसरका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो। एआईको दुरुपयोग गरी गलतलाई सही र सहीलाई गलत देखाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो।
महासचिव पोखरेलले सूचना प्रविधिको विकासले विश्वव्यापी रूपमा सूचना आदान–प्रदानलाई सहज बनाएको भए पनि सामाजिक सञ्जालमार्फत त्यसको दुरुपयोग बढ्दै गएको टिप्पणी गर्नुभयो। लोकप्रियता हासिल गर्ने उद्देश्यले सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सत्य र असत्य छुट्याउन कठिन बन्दै गएको उहाँको भनाइ थियो।
उहाँले सूचना प्रविधिको सकारात्मक उपयोग गर्दै सही सूचना, सही विचार र सामाजिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्