काठमाडौं, साउन ३ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाउँदै नागरिकको समस्या समाधान गर्नुको सट्टा थप पीडा दिने काममा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।
नेकपा (एमाले)ले संसदमा आफ्नो भूमिका थप प्रभावकारी, सशक्त र परिणाममुखी बनाउने उद्देश्यका साथ आयोजना गरेको संघीय सांसदहरूको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारले जनताले दिएको विश्वासअनुसार काम गर्न नसकेको बताउनुभयो। “सरकारले कुनै काम गरेको छैन, बरु नागरिकको पीडामाथि पीडा थप्ने काम मात्र भइरहेको छ, जनताले अत्यन्त लोकप्रिय जनमत दिएपछि पनि जनता आश्वस्त होइन, सन्त्रस्त भएका छन्,” उहाँले भन्नुभयो।
प्रधानमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउनुभयो। “‘काम बाहेक केही नगर्ने’ भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दै छौँ, यसले पनि काम कसरी भइरहेको छ भन्ने देखाउँछ, भर्चुअल दुनियाँमा धेरै चर्चा–परिचर्चा छन्, तर आम नागरिकले अनुभूति गर्ने गरी कुनै काम हुन सकेको छैन,” उहाँले बताउनुभयो।
उहाँले अहिलेको सरकार संविधान पनि पनि च्यातचुत पार्ने र कानुन पनि आफू अनुकूल बनाउने योजनामा छ । नेपालमा कानुनमा संशोधन र सुधार आवश्यक रहेको बताउँदै उहाँले सकार कानुनको दुरुपयोग गर्न बाटोमा लागेको बताउनुभयो ।
महासचिव पोखरेलले पछिल्लो निर्वाचनपछि संसदमा एमालेको प्रतिनिधित्व खुम्चिएको भए पनि त्यसलाई अवसरका रूपमा उपयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। “एमालेले निर्वाचनमा अकल्पनीय पराजय भोगेपछि संसदमा हाम्रो उपस्थिति खुम्चिएको छ, सानो सङ्ख्या हुँदा देखिने र सुनिने अवसर बढी हुन्छ, त्यसैले सांसदहरूले संसदीय भूमिकालाई प्रभावकारी बनाउँदै जनताका मुद्दालाई सशक्त रूपमा उठाउनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले सांसदहरूले पार्टीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै पार्टीको नीति, सिद्धान्त र चुनावी घोषणापत्रका आधारमा संसदमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। “जनताको बहुदलीय जनवाद र मार्क्सवादी दृष्टिकोण हाम्रो पार्टीको वैचारिक आधार हो। पार्टीले बनाएको चुनावी घोषणापत्र नै हाम्रो मार्गदर्शक दस्ताबेज हो। त्यसकै आधारमा पार्टीको पक्षमा प्रभावकारी पैरवी गर्नुपर्छ,” उहाँले उल्लेख गर्नुभयो।
जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले “एमालेले सबै वर्ग र समुदायको भावना सम्बोधन गर्छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्छ,” भन्नुभयो।
सूचना प्रविधिको युगमा राजनीतिक संवादको शैली पनि परिवर्तन भएको उल्लेख गर्दै महासचिव पोखरेलले सांसदहरूलाई डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्न सुझाव दिनुभयो। “भर्चुअल दुनियाँको राजनीतिक संघर्षमा हामी पछाडि परेका छौँ, संसदमा उठाएका विषयलाई डिजिटल माध्यममार्फत पनि प्रभावकारी रूपमा जनतासम्म पुर्याउनुपर्छ। त्यसका लागि संसदीय काममा योगदान गर्न सक्ने र एआईको दक्षता भएको व्यक्तिलाई स्वकीय सचिव बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले जनप्रतिनिधि सधैँ जनताको निगरानीमा रहने भएकाले आफ्नो व्यवहार र आचरणप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै पार्टीमाथि लागेका आरोपबाट बाहिर निस्कन सांसदहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
महासचिव पोखरेलले विकास र सामाजिक न्यायका मुद्दाले पछिल्लो निर्वाचनमा अपेक्षित रूपमा जनतालाई आकर्षित गर्न नसकेको स्वीकार गर्दै आर्थिक वृद्धि जनताको आकाङ्क्षाअनुसार हुन नसक्दा असन्तुष्टि बढेको बताउनुभयो। युवाका आकाङ्क्षा सम्बोधन गर्न नसक्नु पनि पार्टीका लागि चुनौती बनेको उहाँको भनाइ थियो।
उहाँले २०७४ सालमा प्राप्त जनमतलाई जोगाउन नसकिएको अनुभवबाट पाठ सिक्दै योजनाबद्ध रूपमा अघि बढे अहिले अन्य दलतर्फ गएको जनसमर्थन पनि पुनः एमालेतर्फ फर्काउन सकिने विश्वास व्यक्त गर्नुभयो। “लोकप्रियतावाद हाम्रो बाटो होइन, हामी आफ्ना मूल्य, मान्यता र वैचारिक दृष्टिकोणको जगमा उभिएर अघि बढ्नुपर्छ। त्यसैबाट जनताको विश्वास पुनः जित्न सकिन्छ,” उहाँले भन्नुभयो।














प्रतिक्रिया दिनुहोस्