जनता टाइम्स

६ पुष २०७६, आईतवार १०:२६

सडकका खाल्टाखुल्टी पुर्ने काममा यसरी आयो तिव्रता


काठमाडौं, पुष ६

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६\७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो । दुई हप्ताको अवधिमा गौशालादेखि चाबहिलसम्म बाहेक चक्रपथको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भइसकेको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

मङ्सिर १७ गतेदेखि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको थियो । चक्रपथको गौशालादेखि चाबहिलसम्मका सडकका अधिकांश भाग बिग्रिसकेको हुनाले सो खण्डको निर्माणका लागि ठेक्कापट्टाको काम सम्पन्न भइसकेको हुनाले सो खण्डमा खाल्डाखुल्डी पुरिने कार्य नगरिएको उहाँले बताउनुभयो ।

विकास व्यवस्थापनविज्ञ थपलियाका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतल निवास सडकखण्ड, जडीबुटी–पेप्सिकोला सडकखण्ड, शङ्खमूल–नयाँबानेश्वर सडकखण्ड, सिनामङ्ल–डिल्लीबजार सडकखण्ड, हाँडीगाउँ–मालीगाउँ सडकखण्ड, दरबारमार्ग–जय नेपाल सडकखण्ड, माइतीघर मण्डला–मीनभवन सडकखण्ड र टेकु–कुलेश्वर–बल्खु सडकखण्डमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न भइसकेका छन् । सडकमा पानी चुहावट रोक्न खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग यसबारे छलफल भइरहेको बताउँदै उहाँले चुहावट रोकिएपछि ती ठाउँहरूका खाल्डा पुरिने जानकारी दिनुभयो ।

त्यसैगरी सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका सडकमध्ये पानी चुहावटबाहेक ७० प्रतिशतमा खाल्डाखुल्डी पुरिने कार्य सम्पन्न भइसकेको जानकारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले दिनुभयो । पुस महिनाभित्र बाँकी काम सम्पन्न गरिने उहाँले बताउनुभयो । काठमाडौँ जिल्लामा रहेका जम्मा एक हजार छ सय किलोमिटर सडकमध्ये मात्र चार सय किलोमिटर सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत पर्दछ । बाँकी काठमाडौँ महानगरपालिकालगायत विभिन्न निकायअन्तर्गत पर्ने गर्दछ ।

त्यसैगरी भक्तपुर जिल्लामा रहेका जम्मा २० वटा सडकमध्ये १३ वटा खाल्डाखुल्डीमुक्त भइसकेको जानकारी सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख बेलबहादुर भुजेलले दिनुभयो । खाल्डाखुल्डी पुरिने काम सुरु भएको दुई हप्तामा १६८ किलोमिटरमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको जानकारी डिभिजन प्रमुख भुजेलले दिनुभयो ।

सडक डिभिजन कार्यालय, ललितपुरका प्रमुख अमृतमणि अर्यालले ललितपुरका सडकमा खाल्डाखुल्डीको समस्या खासै नरहेको बताउँदै मङ्सिरको १७ गतेदेखियता एक किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिनुभयो । (गोरखापत्र)