जनता टाइम्स

६ पुष २०७६, आईतवार ११:२७

नुवाकोटमा आइचर दुर्घटनामा दुईजनाको मृत्यु


नुवाकोट, पुष ६

विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताउनुभयो ।

मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।