जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १५:३८

अहिलेको सरकार निर्माणको जग नै हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनी : केपी ओली


काठमाडौं, साउन ३ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको गठन लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियाअनुसार नभएको बताउनुभएकाे छ ।

नेकपा (एमाले)ले संसदमा आफ्नो भूमिका थप प्रभावकारी, सशक्त र परिणाममुखी बनाउने उद्देश्यका साथ आयोजना गरेको संघीय सांसद तथा प्रदेशका सचेतकहरूको अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसको आधार हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनी रहेको टिप्पणी गर्नुभयाे। मुलुकको राजनीति अहिले दिशाहीन, विधिहीन र थितिविहीन अवस्थामा पुगेको उहाँले दाबी गर्नुभयो। “अहिले नेपालको राजनीति दिशाविहीन, परिभाषाविहीन र थितिविहीन ढंगले चलिरहेको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले भदौ २३ र २४ पछिका राजनीतिक घटनाक्रमपछि देशको राजनीति सही दिशाबाट विचलित भएको दाबी गर्दै वर्तमान सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाउनुभयो। “लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटो हुन्छ तर अहिलेको सरकार निर्माणको आधार नै हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनी हो,” उहाँले भन्नुभयो।

उहाँले लोकतान्त्रिक प्रणालीमा सरकार गठन र परिवर्तन संविधान तथा कानुनी प्रक्रियाअनुसार हुनुपर्ने उल्लेख गर्दै त्यसविपरीतका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको धारणा राख्नुभयो।

अध्यक्ष ओलीले मुलुकको राजनीतिक अवस्थालाई सही दिशामा लैजान राजनीतिक दलहरूले लोकतान्त्रिक संस्कार, संवैधानिक व्यवस्था र विधिको शासनप्रति प्रतिबद्ध हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।