जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १८:१८

नेपाली कांग्रेसकाे देउवा समूहले साउन भित्रै राष्ट्रिय भेला आयाेजना गर्ने


काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै भावी राजनीतिक तथा साङ्गठनिक रणनीति तय गर्ने उद्देश्यले साउनभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

आइतबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्रै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भेलाको मिति, समय र स्थान आगामी साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा सार्वजनिक गरिनेछ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा देउवा समूहले राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकता सुदृढ गर्न सात महिनासम्म पनि प्रभावकारी पहल गर्न नसकेको आरोप लगाउनुभयो। अदालतको फैसला आएको चार महिना बितिसक्दा पनि पार्टीभित्र देखिएको विवाद समाधानका लागि सार्थक प्रयास नभएको उहाँको भनाइ थियो।

उहाँले पार्टीभित्र राष्ट्रिय बहसको वातावरण सिर्जना गर्दै नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताउनुभयो।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित मोडमा अघि बढिरहेको र स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गरिएको छ। त्यस परिस्थितिमा पार्टीभित्र बलियो एकता कायम गर्नु अपरिहार्य रहेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्दै पार्टीलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।”

देउवा समूहले संस्थापन पक्षप्रति असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक मञ्चबाट सहकर्मी राजनीतिक दलहरूलाई लक्षित अभिव्यक्ति दिइएको आरोप पनि लगाएको छ। त्यस्ता अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त नागरिक अधिकार र लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने वातावरण सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रचार–प्रसार समिति संयोजक विश्वकर्माले प्रस्तावित राष्ट्रिय भेलाले पार्टीको आगामी नीति, राजनीतिक कार्यदिशा तथा भावी साङ्गठनिक रणनीतिबारे व्यापक छलफल गरी आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो।