जनता टाइम्स

४ श्रावण २०८३, सोमबार ०६:४१

आज यी ठाउँमा हुनेछ वर्षा, केही प्रदेशमा भारी पानी पर्ने सम्भावना


काठमाडौं, साउन ४। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर मौसम बदली हुने र विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

हाल देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।