जनता टाइम्स

४ श्रावण २०८३, सोमबार ०६:५३

आज साउनको पहिलो सोमबार : पशुपतिनाथसहित शिव मन्दिरमा दर्शनार्थीको भिडभाड 


काठमाडौं, साउन ४। हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त श्रद्धा र आस्थाको महिना मानिने साउनको पहिलो सोमबार आज देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

राजधानीस्थित विश्वप्रसिद्ध पशुपतिनाथ मन्दिरसहित डोलेश्वर, किराँतेश्वर, साँघुको बज्रयोगिनी परिसरस्थित शिवालय, झापाको अर्जुनधारा जलेश्वर, देवघाट, हलेसीलगायत देशभरका शिव मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने श्रद्धालुको घुइँचो लागेको हो।

बिहान सबेरैदेखि व्रतालुहरू स्नान गरी बेलपत्र, धतुरो, दूध, दही, गंगाजल, चन्दन, अक्षता र फूल लिएर भगवान् शिवको अभिषेक तथा विशेष पूजा–आराधनामा सहभागी भएका छन्। मन्दिरहरूमा ‘ॐ नमः शिवाय’ मन्त्रको जप, भजन–कीर्तन र धार्मिक अनुष्ठानले भक्तिमय वातावरण बनेको छ।

सनातन हिन्दु परम्पराअनुसार साउन महिना भगवान् शिवलाई अत्यन्त प्रिय मानिन्छ। विशेषगरी साउनका सोमबारमा व्रत बसी श्रद्धापूर्वक शिवजीको पूजा गरे मनोकामना पूरा हुने, पारिवारिक सुख–शान्ति, आरोग्यता तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। अविवाहित युवतीहरूले योग्य वर प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाहरूले श्रीमानकाे दीर्घायु, पारिवारिक सुख र समृद्धिको कामना गर्दै सोमबार व्रत बस्ने परम्परा पनि छ।

धार्मिक ग्रन्थहरूमा समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष भगवान् शिवले पान गरी संसारको रक्षा गर्नुभएको प्रसंग उल्लेख छ। विषको ताप कम गर्न देवताहरूले उहाँलाई जल अर्पण गरेको विश्वासका आधारमा साउन महिनाभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा चलेको मानिन्छ। त्यसैले यस महिनामा जल, दूध, बेलपत्र र अन्य पूजासामग्री चढाएर भगवान् शिवको आराधना गर्ने चलन रहिआएको हो।

पशुपति क्षेत्र विकास कोषका अनुसार साउनका सोमबारहरूमा अन्य दिनको तुलनामा कैयौं गुणा बढी भक्तजन मन्दिर पुग्ने भएकाले दर्शनलाई व्यवस्थित बनाउन विशेष व्यवस्था गरिएको छ। सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने दर्शनार्थीका लागि छुट्टाछुट्टै लाइन, स्वास्थ्य सहायता र स्वयंसेवक परिचालन गरिएको छ।

धार्मिक आस्था र परम्पराको संरक्षणसँगै साउनको पहिलो सोमबारले नेपाली समाजमा आध्यात्मिक एकता, सांस्कृतिक पहिचान र धार्मिक विश्वासलाई थप सुदृढ बनाएको छ।