जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १०:१७

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, संयुक्त टोलीद्वारा खोजी  तीव्र


काठमाडौं, साउन ४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएपछि सम्पर्कविहीन भएका छन्। आइतबार बिहान जंगल प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार महिलाहरू बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सविता चौधरी, सानु चौधरी, सुमित्रा सुनारलगायत रहेका छन्। अन्य महिलाको पहिचान तथा विवरण परिवारसँग समन्वय गरेर संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी राउतका अनुसार महिलाहरू साँझसम्म पनि घर नफर्किएपछि खोजी अभियान तत्काल सुरु गरिएको हो। प्रारम्भिक अनुमानअनुसार च्याउ खोज्ने क्रममा उनीहरू निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्ने प्रहरीको अनुमान छ।

खोजी अभियानमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रमणि गिरीका अनुसार खोजी कार्य रातिदेखि नै जारी रहे पनि हालसम्म सम्पर्कविहीन महिलाहरूको अवस्था खुल्न सकेको छैन। खोजी अभियानको नेतृत्व गर्न डीएसपी टेकबहादुर राउत स्वयं घटनास्थल पुगेका छन्।

यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू भने सोमबार बिहान सकुशल फेला परेको डीएसपी राउतले जानकारी दिएका छन्।

प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र सम्पर्कविहीन १४ महिलाको खोजीलाई प्राथमिकतामा राखेर नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा व्यापक रूपमा खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ। साथै, निकुञ्ज तथा घना जंगल क्षेत्रमा प्रवेश गर्दा समूह नछुट्न, आवश्यक सुरक्षाका उपाय अपनाउन र सम्बन्धित निकायलाई जानकारी दिएर मात्र प्रवेश गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।