काठमाडौं, असार ४ । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पछिल्लो समय ‘३५ वर्षमा तिमीहरूले के गर्यौ?’ भन्ने प्रश्नलाई आधार बनाएर एमालेविरुद्ध गलत भाष्य निर्माण गरी आम नागरिकमा भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभएको छ।
उहाँले विगत ३५ वर्षको संसदीय कालखण्डमा एमालेले सरकारको नेतृत्व गरेको वास्तविक अवधि निकै सीमित रहेको उल्लेख गर्दै तथ्य र इतिहासलाई बेवास्ता गरेर पार्टीमाथि सम्पूर्ण ३५ वर्षको जिम्मेवारी थोपर्न खोजिएको जिकिर गर्नुभएकाे छ। “आजभोलि समाजमा ‘३५ वर्षमा तिमीहरूले के गर्यौ ?’ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिँदैछ तर, राजनीतिक इतिहास र तथ्यहरूले यसलाई पूर्णतः असत्य प्रमाणित गर्छन्,” आचार्यले भन्नुभएकाे छ ।
उहाँका अनुसार एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २ सय ८६ दिन, माधवकुमार नेपालले ६ सय २३ दिन र झलनाथ खनालले २ सय ५ दिन सरकारको नेतृत्व गर्नुभएको थियो। त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २ सय ९८ दिन, १ हजार २ सय ४४ दिन र ४ सय २५ दिन गरी कुल ५ वर्ष ४ महिना २२ दिन (१ हजार ९ सय ६७ दिन) देशको नेतृत्व गर्नुभएको उहाँले उल्लेख गर्नुभएकाे छ । “समग्रमा जोडेर हेर्दा विगत ३५ वर्षमा नेकपा (एमाले)ले जम्मा ८ वर्ष ५ महिना ११ दिन अर्थात् कुल ३ हजार ८१ दिन मात्र सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो,” आचार्यले स्पष्ट पार्नु भएकाे छ ।
उहाँले सरकारको नेतृत्व गरेको वास्तविक अवधिलाई बेवास्ता गरेर सम्पूर्ण ३५ वर्षको उपलब्धि वा कमजोरीको जिम्मेवारी एमालेमाथि थोपर्ने प्रयास तथ्यसंगत नभएको उल्लेख गर्दै राजनीतिक बहस तथ्य, इतिहास र यथार्थका आधारमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्