काठमाडौं, साउन ४ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले कुनै पनि नेता वा सरकारको अन्ध समर्थन गर्नु लोकतान्त्रिक संस्कृतिअनुकूल नहुने बताउनुभएको छ। उहाँले सरकारका गतिविधिमाथि प्रश्न उठाउने र सहीलाई सही तथा गलतलाई गलत भन्न सक्ने साहस नै सचेत नागरिकको पहिचान भएको धारणा व्यक्त गर्नुभएको छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारका लाेकतन्त्र, राष्ट्रियता, सार्वभाैमसत्ता विराेधी गलत निर्णय, अभिव्यक्ति र कार्यशैलीका बाबजुद पनि केही समूहले निरन्तर अन्ध समर्थन गरिरहेको टिप्पणी गर्नुभएको हो। “लोकतन्त्रमा कुनै पनि नेता वा सरकार प्रश्नभन्दा माथि हुँदैन। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस नै सचेत नागरिकको पहिचान हो,” बस्नेतले भन्नुभएको छ।
उहाँले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै श्रीमतीलाई ट्राफिक प्रहरीले केहीबेर रोकेपछि ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्तिदेखि सिंहदरबारमा भएको आगजनी, जनतासँग दूरी बढेको शैली, गरिब तथा विपन्नप्रति अपनाइएका नीतिलगायत विषयमा पनि अन्ध समर्थन भएको आरोप लगाउनुभएको छ।
त्यसैगरी, सामाजिक सञ्जालको प्रयोग, आन्दोलनप्रतिको व्यवहार, संसद्मा उपस्थिति, कर नीति, नियुक्ति प्रक्रिया, मन्त्री चयन, ऋण, जरिवाना तथा सरकारको जवाफदेहितालगायत विषयमा समेत प्रश्न उठाउँदै उहाँले सरकारका गतिविधिलाई विवेकपूर्ण ढंगले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
“अब भन, अझै कति अन्ध समर्थन गर्ने हो ?” भन्दै बस्नेतले सरकारका हरेक निर्णय र गतिविधिलाई आलोचनात्मक चेतका साथ हेर्न आग्रह गर्नुभएको छ।
बस्नेतले उठाउनुभएका मुख्य बुँदाहरू :
१. श्रीमतीलाई ट्राफिकले केहीबेर रोक्दा “सिंहदरबार जलाइदिन्छु” भन्ने अभिव्यक्ति आयो, अन्ध समर्थन गर्यौ।
२. केही वर्षमै सिंहदरबारमा आगजनी हुँदा पनि अन्ध समर्थन गर्यौ।
३. जनतासँग भेट्नै कठिन हुने, खोपीको देउताजस्तै बन्ने शैली अपनाउँदा पनि अन्ध समर्थन गर्यौ।
४. गरिब र विपन्नलाई लखेट्ने नीति आउँदा पनि अन्ध समर्थन गर्यौ।
५. आफ्नै सुविधाका लागि छुट्टै लिफ्ट बनाउँदा पनि अन्ध समर्थन गर्यौ।
६. फेसबुकमा जथाभावी लेख्दै गाली–गलौज गर्दा पनि अन्ध समर्थन गर्यौ।
७. आफूले प्रेरित गरेका भनिएका जेन्जी युवाहरूको मृत्यु हुँदा श्रद्धाञ्जलीसम्म नदिँदा पनि अन्ध समर्थन गर्यौ।
८. घाइते जेन्जीहरूलाई अस्पतालमा भेट्नसमेत नगर्दा पनि अन्ध समर्थन गर्यौ।
९. मृत्यु भएका जेन्जीहरूको अन्तिम संस्कारमा समेत सहभागी नहुँदा पनि अन्ध समर्थन गर्यौ।
१०. आन्दोलन हिंसात्मक बनेपछि सहयोगको आग्रह गर्दा पनि अगाडि नआउँदा अन्ध समर्थन गर्यौ।
११. फेसबुकबाट सबैलाई गाली गर्दै हिँड्दा पनि अन्ध समर्थन गर्यौ।
१२. सार्वजनिक मञ्चबाट विवादास्पद अभिव्यक्ति दिँदा पनि अन्ध समर्थन गर्यौ।
१३. मेयर हुँदा एउटा राष्ट्रवादी अडान देखाउने, प्रधानमन्त्री हुँदा फरक अडान लिँदा पनि अन्ध समर्थन गर्यौ।
१४. जनताको प्रश्न नसुन्ने, आफूलाई सर्वोपरि ठान्ने र जवाफदेही नबन्दा पनि अन्ध समर्थन गर्यौ।
१५. सुकुम्बासीलाई घर न घाटको बनाउने अवस्था सिर्जना हुँदा पनि अन्ध समर्थन गर्यौ।
१६. जनतामाथि निरन्तर नयाँ कर र आर्थिक भार थपिँदा पनि अन्ध समर्थन गर्यौ।
१७. महँगा गाडी चढ्दै गरिबमारा नीति ल्याउँदा पनि अन्ध समर्थन गर्यौ।
१८. जनतामा आशा र विश्वास जगाउन नसकी निराशा बढाउँदा पनि अन्ध समर्थन गर्यौ।
१९. चिया पसलतिर जान समय निकाल्ने तर संसदमा उपस्थित नहुँदा पनि अन्ध समर्थन गर्यौ।
२०. हटाइएको सांसदको स्वकीय सुविधा नहटाई अझ थप सुविधा दिने कुरा गर्दा पनि अन्ध समर्थन गर्यौ।
२१. पुरानै शैलीमा आफ्ना र नजिककालाई नियुक्ति गर्दा पनि अन्ध समर्थन गर्यौ।
२२. विवादित गृहमन्त्रीलाई फेरि त्यही जिम्मेवारी दिँदा पनि अन्ध समर्थन गर्यौ।
२३. जनतालाई ऋणमाथि ऋणको भारी बोकाउँदा पनि अन्ध समर्थन गर्यौ।
२४. जनतामाथि अत्यधिक जरिवाना लगाउने नीति ल्याउँदा पनि अन्ध समर्थन गर्यौ।
२५. आफ्नालाई जोगाउने र विपक्षीलाई मात्र लखेट्ने आरोप लाग्दा पनि अन्ध समर्थन गर्यौ।
२६. सरकारको आलोचना गर्ने र आफ्नाविरुद्ध बोल्नेलाई कारबाही गर्ने आरोप लाग्दा पनि अन्ध समर्थन गर्यौ।
“अब भन, अझै कति अन्ध समर्थन गर्ने हो ? लोकतन्त्रमा कुनै पनि नेता वा सरकार प्रश्नभन्दा माथि हुँदैन। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस नै सचेत नागरिकको पहिचान हो।”
प्रतिक्रिया दिनुहोस्