जनता टाइम्स

४ श्रावण २०८३, सोमबार ११:४७

मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक


मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

काठमाडौं, साउन ४ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ–सूची सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त २ सय ९८ पुस्तकमध्ये मूल्याङ्कनपछि उत्कृष्ट ठहरिएका १० कृतिलाई श्रेष्ठ–सूचीमा समावेश गरिएको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी विज्ञप्तिअनुसार श्रेष्ठ–सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र **वीणा जोशी (राजभण्डारी)**को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ परेका छन्।

त्यसैगरी उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० पुस्तकको सूचीमा समावेश भएका छन्।

गुठीले यी १० कृतिमध्ये एक उत्कृष्ट कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गर्ने जनाएको छ। अन्तिम विजेताको घोषणा भने केही समयपछि गरिनेछ।

वि.सं. २०१२ सालमा स्थापना भएको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा प्रदान गरिएको थियो। पहिलो संस्करणमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुरस्कृत भएका थिए।

गुठीले वि.सं. २०७२ सालदेखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० उत्कृष्ट कृतिको श्रेष्ठ–सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो। गुठीका अनुसार छनोट प्रक्रियामा अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई विशेष प्राथमिकता दिइन्छ।

वि.सं. २०७५ सालदेखि मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ। नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कारका रूपमा परिचित मदन पुरस्कारको अन्तिम नतिजाप्रति साहित्यिक वृत्तमा विशेष चासो रहने गरेको छ।